रामेछाप अस्पतालको पृष्ठभूमि
नेपालको संविधान तथा राष्ट्रिय स्वास्थ्य नीतिमा आधारित अस्पतालको संस्थागत पृष्ठभूमि र स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धता।
१. पृष्ठभूमि
नेपालको संविधानले स्वास्थ्यसम्बन्धी आधारभूत सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। संविधानले सुनिश्चित गरेको यस हकको प्रभावकारी कार्यान्वयन गर्दै प्रत्येक नागरिकलाई गुणस्तरीय, सर्वसुलभ, सहज र समान पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।
नेपाल सङ्घीय शासन प्रणालीमा प्रवेश गरेसँगै स्वास्थ्य सेवाको विकास, विस्तार तथा व्यवस्थापनलाई सङ्घीय संरचना र तीनै तहका सरकारको अधिकारक्षेत्र एवं जिम्मेवारीअनुरूप व्यवस्थित गर्नु आवश्यक भएको छ। यसै सन्दर्भमा नेपालको संविधानमा व्यवस्था गरिएका सङ्घ, प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार सूची, नेपाल सरकारका नीति, योजना तथा कार्यक्रम, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता, स्वास्थ्य क्षेत्रका विद्यमान समस्या तथा चुनौती, उपलब्ध स्रोतसाधन र प्रमाणमा आधारित आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय स्वास्थ्य नीति, २०७६ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको हो।
यस नीतिले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सेवामा समान पहुँचको सुनिश्चितता, स्वास्थ्य प्रणालीको सुदृढीकरण तथा नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन प्रदान गर्दछ।
रामेछाप अस्पतालले पनि प्रचलित स्वास्थ्य नीति, कानुन, मापदण्ड तथा प्रदेश सरकारका स्वास्थ्यसम्बन्धी प्राथमिकताहरूलाई आधार मानी नागरिकलाई गुणस्तरीय, सुरक्षित, सर्वसुलभ र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ आफ्ना सेवा तथा गतिविधिहरू सञ्चालन गर्दै आएको छ।