रामेछाप अस्पतालको विकासक्रम
स्थापनादेखि आधुनिक स्वास्थ्य सेवा केन्द्रका रूपमा निरन्तर विकासको यात्रा
रामेछाप जिल्लामा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले वि.सं. २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा यस संस्थाको स्थापना भएको थियो। समयक्रमसँगै स्वास्थ्य सेवाको आवश्यकता, सेवाग्राहीको चाप तथा संस्थागत विकासअनुरूप अस्पतालको संरचना र सेवा विस्तार हुँदै आएको छ।
वि.सं. २०५० सालमा जिल्ला स्वास्थ्य कार्यालय, रामेछाप अन्तर्गत रहने गरी १५ शय्याको जिल्ला अस्पताल, रामेछाप स्वीकृत भएको थियो। प्रारम्भिक चरणमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधारको सीमितताका बाबजुद १५ शय्यासहित अन्तरङ्ग सेवा सञ्चालनमा ल्याई जिल्ला अस्पतालका रूपमा रूपान्तरण गरिएको थियो। यसै क्रममा प्रसूति सेवा समेत प्रारम्भ भई जिल्लाका सेवाग्राहीलाई संस्थागत स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण आधार तयार भएको थियो।
आ.व. २०७५/७६ देखि संघीय संरचनाअनुसार रामेछाप अस्पताल प्रदेश सरकार अन्तर्गतको अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ। अस्पताल विकास समितिको पहल तथा उपलब्ध स्रोत–साधनको उपयोग गर्दै थप १५ शय्या विस्तार गरी ३० शय्याको अस्पतालका रूपमा सेवा सञ्चालन गरिएको थियो।
स्वास्थ्य सेवाको बढ्दो आवश्यकता तथा विशेषज्ञ सेवाको विस्तारलाई मध्यनजर गर्दै आ.व. २०७९/८० मा वाग्मती प्रदेश सरकारबाट अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो। स्तरोन्नतिसँगै अस्पतालमा डायलाइसिस सेवा, नवजात शिशु उपचार सेवा, PICU, General Ward तथा सामाजिक सेवा इकाई लगायतका सेवाहरू थप गरी सञ्चालनमा ल्याइएका छन्।
हाल रामेछाप अस्पतालले उपलब्ध जनशक्ति, पूर्वाधार तथा प्रविधिको अधिकतम उपयोग गर्दै आकस्मिक तथा नियमित स्वास्थ्य सेवा, नियमित शल्यक्रिया सेवा, अर्थोपेडिक (Orthopedic) सेवा, प्रसूति तथा स्त्रीरोग सेवा लगायतका स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ। विशेषगरी २४ घण्टा सुरक्षित सिजेरियन सेक्सन (C/S) सेवा उपलब्ध गराउँदै मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको छ।
अस्पतालले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रेषित सेवाग्राहीलाई आवश्यकतानुसार उपचार तथा विशेषज्ञ सेवा प्रदान गर्दै जिल्लाको महत्वपूर्ण रेफरल स्वास्थ्य संस्थाका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ। साथै, सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्दै सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर प्राथमिकता दिँदै आएको छ।
वर्तमान सेवा विस्तार
रामेछाप अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण, शल्यक्रिया सेवाको विकास, मातृ तथा नवजात शिशु स्वास्थ्यको संरक्षण, आकस्मिक सेवाको प्रभावकारिता तथा सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकतामा राखी अस्पतालको संस्थागत क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।